दुप्चेश्वर परिचय
दुप्चेश्वर महादेवको उत्पत्ति र हामीमाझ प्रकट भएका सन्दर्भमा विभिन्न किंवदन्तिहरु रहेका छन् । दुप्चेश्वर महादेवको उत्पत्ति त अनादि कालमै भएको विश्वास छ तर, हामी माझ प्रकट भने केही शताब्दी अघि मात्र भएको बताइन्छ । सयौँ वर्ष अघि बासे तामाङको हराएको गाईले उक्त स्थानमा दुध चढाइरहेको भेटिएकोबाट दुप्चेश्वर महादेव पत्ता लागेको हो ।
दुप्चेश्वर महादेवको नामका सन्दर्भमा केही तर्कहरु छन् । एउटा तर्कअनुसार दुग्धेश्वर अपभ्रंश भएर दुप्चेश्वर भएको मानिन्छ । यस तर्कमा प्रख्यात पुरात्त्व अन्वेशी योगी नरहरिनाथले आध्यात्मिक नेपालमा लेखेका छन्,‘ ‘शिवो दुप्चेश्वररो देवः सूर्यगङ्गातटेस्फुटः। गवा प्रकटितो दुग्धैर्यथा पशुपतिः पुराः। वर्षमध्ये महामेला धान्यपूर्णिमयान्विताः अर्थात् दुप्चेश्वर पनि पशुपतिनाथ जस्तै गरी गौमाताले दुग्धाभिषेकबाट प्रकट गरेकी हुन् जहाँ धान्यपूर्णिमाको अवसरमा विशेष मेला लाग्छ ।
अर्को तर्कअनुसार, डुप्चेश्वर अपभ्रंश भएर दुप्चेश्वर भएको बताइन्छ । तामाङ भाषामा डुप्चेको अर्थ चट्टान फुटेर निस्केको पवित्र पानीको श्रोत भन्ने हुन्छ । दुप्चेश्वर महादेवको शिवलिङ्गको ठीक तल अद्भूत रुपमा पानी निस्केको छ । त्यस्तो पवित्र स्थान डुप्चेको देवताका रुपमा डुप्चेश्वर नामाकरण गरियो भन्ने तर्क छ । नाम जुन रुपमा राखिएको भएपनि दुप्चेश्वर महादेव सबैका सहआस्थाको केन्द्र हुन् । दुप्चेश्वरको महिमा दिनानुदिन देश विदेशभर नै फैलिरहेको छ । भक्तजनको चापलाई ध्यानमा राखेर अहिले विभिन्न भौतिक संरचनाहरु निर्माण भएका छन् । सूर्यमति तटदेखि मन्दिरसम्म फाइबर छाना सहितको सुविधासम्पन्न सिँढी, ढुँगेधारा, पाटी लगायत संरचना बनेका छन् ।